Nepal Hypnosis Logo
नेपाल हिप्नोसिस
मनोचिकित्सा क्लिनिक तथा तालिम केन्द्र
सम्पर्कपरामर्श →
व्यक्तित्व विकास

सफलताको सूत्रः न्यून आत्मसम्मानमाथिको विजय

~ अर्चना विभोर, मनोविज्ञ

म सानो छँदा देख्थेँ- आमाले हजुरबुबा, हजुरआमा, बुबा, दाइलगायत परिवारका सदस्यहरूलाई खाना खुवाउँदा ठूलो खण्डेथालमा खाना, तरकारी अचार राखिदिनुहुन्थ्यो अनि छुट्टै कचौरामा दाल र गिलासमा पानी । सबैले खाना खाउन्जेल उभिएर पर्खिरहनुहुन्थ्यो । सबै उठेर गएपछि सेलाएको, बाँकी रहेको दाल, भात, तरकारी सबै एउटा सानो रिकापीमा हालेर एक्लै बसेर खानुहुन्थ्यो । अलि ठूलो भएपछि बुझेँ, प्रायः सबैको घरमा त्यस्तै हुँदोरहेछ। जब मनोविज्ञान पढँ, अनि बुझेँ यस्ता व्यवहारहरूले न्यून आत्मसम्मान (Lower Self-Esteem) को संकेत गर्छ ।

हामी अरूलाई सम्मान गर्न त खुब अघि सर्र्छौँ, तर आफूलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुरा आवश्यक ठान्दैनौँ । विद्यार्थीहरूमा आफूले पढेको विषय भन्न हिचकिचाउने, आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्न लजाउने, मनमा उब्जेका भाव पोख्न पछि हट्ने जस्ता व्यवहारहरू भेटिन्छन् ।

आफूलाई महत्व नदिने, राम्रोसँग स्याहार नगर्ने, आफूले गरेका कामको महत्व नदेख्ने, प्रतिभा तथा क्षमताको पहिचान गर्न नजान्ने, र आफूलाई हरेक समस्याको कारक र जिम्मेवारी ठान्ने जस्ता व्यवहारहरू न्यून आत्मसम्मानका लक्षणहरू हुन् ।

आत्मसम्मान न्यून हुनुका कारणहरू

हामीलाई आफूलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुराको जानकारी नै नभएकाले यो समस्या बढेको हो । मनोविज्ञ एरिक एरिक्सन (१९०२-१९९४) ले मानव विकाससम्बन्धी सिद्घान्त प्रतिपादन गरेका छन् । उनका अनुसार बाल्यकालको स्याहारसुसारदेखि लिएर सिकाइ र भोगाइमा सकारात्मक रूपले विकास हुनसकेमा मानिसमा उच्च आत्मसम्मानको विकास हुन्छ । तर हरेक चरणमा उसले नकारात्मक परिस्थितिसँग जुझ्नुपरेमा उसलाई अविश्वास, हीनता, ग्लानि, डर जस्ता नकारात्मक भावनाहरूले पिरोल्छन् ।

न्यून आत्मसम्मानको असर

यो एक जटिल मनोसामाजिक समस्या हो । क्षमता हुँदाहुँदै पनि आत्मविश्वासको कमीले कतिपय मानिसहरू आफ्नो क्षमता तथा प्रतिभालाई उजागर नगर्ने हुन्छन् । कसैले केही भन्ला कि भन्दै आफूलाई जान मनलागेको ठाउँ नजाने, मनलागेको कुरा नखाने जस्ता व्यवहारहरू गर्छन् ।

समाधान

वास्तवमा न्यून आत्मसम्मानको समस्या भएका मानिसहरू अत्यन्तै प्रतिभावान् र क्षमतावान् हुन्छन् । उनीहरूले गरेको कार्यको प्रशंसा गर्ने, उनीहरूको मनको कुरा सुन्ने र बुझ्ने जस्ता व्यवहार नै न्यून आत्मसम्मानको समाधान हो । उनीहरूको महत्व दर्शाइदिने, इज्जत गर्ने र हौसला दिने जस्ता व्यवहारहरू गर्नाले उनीहरूमा परिवर्तन आउनसक्छ ।

न्यून आत्मसम्मानका कारण दैनिक जीवनमा धेरै असर परिरहेको छ भने उनीहरूलाई मनोविमर्श गरेर स्वस्थ बनाउनुपर्छ । मनोविमर्श एक मात्र उपाय हो, जसले न्यून आत्मसम्मान भएका व्यक्तिहरूलाई सहयोग गर्नसक्छ ।