कसरी घटाउने पुस्तैनी दूरी ?
~ अर्चना विभोर, मनोविश्लेषक
अस्ट्रेलियामा रहेका सुदीप भट्टराईलाई बडो चिन्ता परेको छ । च्याटमा भेट हुँदा होस् या फोनमा, नेपालमा रहेका बुबाआमाले उनलाई 'तेरो उमेर भइसक्यो, बिहे गर्ने गरी छिट्टो नेपाल आइज', भन्दै हकार्ने गर्नुहुन्छ । उनलाई पनि बिहे गर्न मन नभएको त कहाँ हो र ! तर बुबाआमाले उनको रुचि नबुझिदिनाले उनलाई पीर परेको छ । 'संसारमा कत्रो परिवर्तन भइसक्यो तर मेरा अभिभावकहरू अझै पुरानै युगमा हुनुहुन्छ', उनी भन्छन्, 'उहाँहरू जात/धर्म, चिना/टिपन आदिमै अल्झिनुभएकाले मेरो जिन्दगीसमेत उहाँहरूको समय र मेरो समयको बीचमा पेन्डुलमझैँ रिङ्गिरहेको छ ।'
यथार्थमा यो समस्या सुदीप या उनका अभिभावकहरूको होइन, नत विवाह संस्कारमा आउन थालेको परिवर्तनको नै । समस्या त हरेक युगमा नयाँ पुस्ता र पुराना पुस्ताका बीचमा देखापर्ने विचारको भिन्नताको हो, पुस्तैनी दूरीको, जेनेरेसन ग्यापको ।
पुस्तान्तर र समाज
पुस्ता वा पिँढी भन्नेवित्तिकै लगभग एउटै समयमा जन्मिएका र एउटै उमेर समूहका व्यक्तिहरू भन्ने बुझिन्छ । प्रा. डिल्लीराम दाहालका अनुसार सामान्यतया यदि बाबु, आमा र छोराछोरीबीच सोचाइ, मूल्यमान्यता र कुरा गराइ मिलेन भने त्यसलाई पुस्तान्तर अर्थात पुस्ताभित्रको विभेद हो भनेर टुङ्ग्याउने चलन छ । तर सामाजिक तथा आर्थिक परिवर्तनसँगसँगै दुई पुस्ताबीच यस प्रकारको वैचारिक भिन्नता आउनु सामान्य हो ।
मानिस जन्मिएपछि समयसँगै हुर्कदै जानु उसको प्रकृति हो । समयसँगै मानिसको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक अवस्थामा परिवर्तन आउँछ। यसकारण प्रत्येक मानिसको व्यक्तित्व फरक हुने गर्छ । जसरी व्यक्तिगत भिन्नता स्वाभाविक छ, त्यसैगरी पुस्ताबीचको दूरीलाई पनि स्वाभाविक मान्नुपर्छ । तर राम्रोसँग सन्तुलन मिलाउन नसक्दा कतिपय अवस्थामा यस दूरीले विकराल समस्याको रूप धारण गर्न पुग्छ ।
दूरी बढ्नुका कारण र समाधान
पुस्तैनी दूरीको सुरुवात त्यस घडीदेखि हुन्छ, जब एउटा पुस्ताले आफ्ना भावना, विचार र चाहनालाई अर्को पुस्ताले नबुझेको महसुस गर्छ । यो समस्या त्यतिबेला चर्कँदै जान्छ, जब विभिन्न पुस्ताहरूले एकअर्कालाई बुझ्ने कोसिस गर्नुको साटो समस्याको कारकका रूपमा चित्रित गर्न थाल्छन् ।
वास्तवमा नयाँ पुस्ताले सिक्ने भनेको अग्रज पुस्ताबाट नै हो । समय र परिवेशअनुसार मानिसको व्यवहारमा परिवर्तन आउनु स्वाभाविक हो । तर अग्रज पुस्ता सकेसम्म आफूलाई परिवर्तन गर्न चाहँदैनन् र सबै कुरा आफ्नै समयअनुसारको भइदिए हुन्थ्यो भन्ने आग्रह राख्छन् । नयाँ पुस्तामा क्रमशः 'म', 'मेरो जीवन', 'म पना' वा 'मेरो जिन्दगी' (व्यक्तिवाद) भन्ने प्रवृत्ति हिजोको तुलनामा आज तीब्ररूपमा बढ्दै गइरहेको छ ।
पुस्तैनी दूरी जति तन्कायो उति तन्किन्छ र जति घटाउन चाह्यो उति घट्छ । व्यवहारमा थोरै परिवर्तन गरे यस्ता दूरी सजिलै घटाउन सकिन्छ । अभिभावकसँग नियमित संवाद तथा आफ्ना सम्पूर्ण भावनाहरू खुलस्त गरेमा सबै कुरा सहज भइदिन्छन् ।
साँच्चै पुस्तान्तरको अन्त्य गर्ने हो भने दुवै पुस्ता यसका लागि तयार हुनुपर्छ । एक हातले ताली नबजेजस्तै कुनै एक पक्षको प्रयत्नले समस्या सुल्झिँदैन । हरेक व्यक्तिले आत्मअनुशासित भएर आफ्नो कर्तव्य र अधिकारको सदुपयोग गरेमा यो दूरी घटेर जान्छ ।