बालबालिकालाई कसरी मार्गदर्शन गर्ने?
~ अर्चना विभोर (मनोविमर्शकर्ता तथा प्रशिक्षक)
सन्तानको प्रेम र सुरक्षा सबै प्राणीहरू गर्दछन् । मानवजातिले सन्तानलाई विशेष प्रेम गर्दछन् । आफ्ना सन्तानलाई माया गर्ने, तिनको मार्गदर्शन गर्ने अभिभावकहरूको कर्तव्य पनि हो । अभिभावकले डोर्याएको बाटोमा 'ताते' गर्दै हरेक बालबालिकाको यात्रा सुरु हुन्छ।
कहिलेकाहीँ भने अभिभावकले समयको माग भन्दै प्रतिस्पर्धा तर्फ डोर्राइदिन पुग्छन् । आफ्ना दमित ईच्छाहरू छोराछोरीले पूरा गरिदिए हुन्थ्यो भन्ने आशाका साथ समयको मागलाई घुलाएर सन्तानलाई उच्च शिक्षा, गुणस्तरीय शिक्षा वा अत्यावस्यक शिक्षा नामक दबाब पिलाउन पुग्छन् । यस्ता दबाब पिएका सन्तानहरू भित्रभित्रै जलन, कुण्ठा, अपहेलना, हिनताबोध, कमजोर आत्मबल, न्यून आत्मसम्मान जस्ता समस्याहरू उमार्न बाध्य भइरहेका हुनसक्छन् ।
दबाबको मनोवैज्ञानिक असर
आफूले नचाहेको विषय पढ्नु परेकाले पढाइमा अरूची हुँदै जाने, आफूलाई अभिभावकले पढ्न नसके माया गर्दैनन् भन्ने सोचको विकाश हुने, आफूलाई कमजोर ठान्ने, हिनता बोध हुने, रीस उठ्ने, दिक्क लाग्ने जस्ता लक्षणहरू देखापर्न सक्छन् । कहिलेकाहीँ त छोराछोरीले अत्याधिक दबाब महसुस गरेर आत्महत्या सम्म गर्न पुग्ने हुनसक्छ ।
मनोविमर्शका लागि म कहाँ आउने अधिकांश विद्यार्थी प्रत्यक्ष वा परोक्ष रूपमा अभिभावकबाटै पिडित हुन्छन् । सन् १९९९ मा वोल्फ, टोरो र म्याकक्यास्किल ले गरेको अनुसन्धानका अनुसार घरमा दबाब पाएका केटाकेटीहरू खुसी खोज्न घरबाट भाग्ने गर्छन् ।
सही मार्गदर्शनको बाटो
प्रख्यात मनोविज्ञ इनराइटका अनुसार जुन अभिभावकले छोराछोरीलाई सही मार्गनिर्देशनका साथ आत्मनिर्णयको अनुमति दिन्छन्, ती अभिभावकले आफ्ना सन्तानको अस्तित्व सुदृढ पार्न मद्दत पुर्याउँछन् । शिक्षा दिने नाममा सन्तानलाई दबाब नदिई स्वतन्त्रता दिनु राम्रो हुन्छ ।
"तिम्रो जस्तोसुकै अवस्थामा पनि म तिमीलाई माया गर्छु, तिमीलाई साथ दिन्छु, तिमीलाई स्वीकार गर्छु", भन्ने विश्वास र प्रत्याभूति दिलाएर मार्गदर्शन गर्नाले सन्तानमा सकारात्मक भावनाको विकास हुन्छ । यसरी सकारात्मक पक्षहरू सबल भइदिँदा सन्तानले प्रगतिको बाटो लम्किन सक्छन् र सफलता चुम्न सक्छन् ।
(अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित)