Nepal Hypnosis Logo
नेपाल हिप्नोसिस
मनोचिकित्सा क्लिनिक तथा तालिम केन्द्र
सम्पर्कपरामर्श →
मनोविज्ञान र समाज

यौनिकता व्यवस्थापन

~ प्रा. डा. शान्ता निरौला (पूर्व प्रमुख, मनोविज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय)

मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ ।

विवाह नभएका युवायुवतीहरूमा पनि यौन जिज्ञासा उठ्नु स्वाभाविक प्रक्रिया हो । किशोरावस्थामा प्रवेश गरेपछि मानिसमा यौनसम्बन्धी विभिन्न चर्चा गर्ने व्यवहार देखिन्छ । साथीभाइसँग यस्ता विषयमा कुरा गर्नुलाई नकारात्मक तरिकाले व्याख्या गर्न मिल्दैन । सीमित साथीभाइसँग गोप्यरूपमा आफ्ना कुराहरू साट्नु सामान्य हो ।

तर यदि किशोरावस्थामा यौनसम्बन्धी गलत सिकाइ भयो भने व्यक्तिको यौनिकतामा नराम्रो प्रभाव पर्नसक्छ । यौनिकतामा विचलन आउनाले देखिने समस्याहरू निम्नानुसार छन् :

  • नपुङ्सकता (औषधि सेवन, चोटपटक, थकाइ, रोगका कारणले)
  • आफ्नो यौनाङ्ग अरूलाई देखाउने
  • अरूको यौन क्रियाकलाप लुकेर हेर्ने
  • विपरीत लिङ्गीका सामानहरू थुपार्ने
  • बालबालिकासँग सम्बन्ध राख्ने
  • बलात्कार गर्ने
  • आत्मविश्वास र आत्मसम्मान न्यून हुने
  • समाजमा घुलमिल हुन गाह्रो हुने आदि ।

यौनिकताको सही व्यवस्थापन र नियन्त्रणका उपायहरू:

  • यो विषय स्वाभाविक हो तर जटिल हो । त्यसैले आफूभित्रै म नियन्त्रणमा बस्छु, संयमित हुन्छु भन्ने हठ निश्चय जरुरी हुन्छ ।
  • चिसो पानीमा नुहाउने, पौडी खेल्ने ।
  • उच्छृङ्खल पुस्तक, पत्रपत्रिका पढ्ने बानी छ भने तुरुन्तै त्यागिदिने ।
  • यौनलिप्साका सोचाइलाई आफूभित्र आउन नदिने । अरू विषयवस्तुतिर ध्यान केन्द्रित गर्ने ।
  • राजयोग ध्यान गर्ने र सिद्धासन वा सुखासनमा बस्ने ।
  • आफूलाई विभिन्न तरिकाले व्यस्त राख्ने, नाच्ने गाउने आदि र राम्रो सङ्गत गर्ने ।